जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन

Loading...
Spread the love

लोचना शर्मा “मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, अनि मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ। तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ ।”

rape pictureआफ्नै बाबु र हजुरबाबुबाट पटक पटक बलात्कृत भएकी एक छोरीेले बोलेका वाक्यांश हुन् यी । यो वाक्यांशले आंग सिरिंग नहुने कोही पनि छैन होला । उनी बावु र हजुरवाबुको स्वास्नी हुनुभन्दा आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् । जीवनलाई समाप्त गर्न विष सेवन गरी छट्पटाइरहेकी थिइन् । गस्तीमा गएको प्रहरीले भेटेर उनलाई समयमा अस्पताल पुरयायो र उनी बाँचिन् । १० दिनको अस्पताल बसाइपछि प्रहरीले नै डिस्चार्ज गरी उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पुरयाएको थियो । प्रहरीको बयानमा उनले सो कुरा बताएकी हुन् ।

 उनीहरुले पिट्दापिट्दा म बेहोस हुन्थेँ, होशमा आउँदा घरमा कोही हुँदैनथ्यो तर त्यो राक्षसी बाउ भनौँदो ममाथि चढिरहेको हुन्थ्यो । मैले अन्यायमा परेँ भन्दा उल्टै मलाई धम्काएर, तर्साएर, पिटेर मेरो कुरा सुनिदिने कोही भएन । उनलेरुँदै भनेकी थिइन्– ‘सर आफ्नै जन्मदाता र संरक्षकबाट ममाथि भएको यो शोषणबारे सबैभन्दा पहिले मैले हिम्मत गरेर आफ्नी आमालाई सुनाएकी थिएँ । मेरी आमा पहिले त रोएकी थिइन्, तँमाथि भएको यो अत्याचारविरुद्ध म बोल्छु, प्रहरी चौकीमा गएर उजुरी गरौँला भनेकी थिइन् तर बाउ र हजुरबाउले के भनी धम्काए वा फकाए, उनले मलाई साथ दिइनन् ।

त्यसपछि मैले यो कुरा मामा, माइजु र फुपुदिदीलाई भने, उहाँहरुले हाम्रो परिवारको इज्जत जान्छ। समाजले बाउलाई डाँडो कटाउँछ। उसले डाँडो काट्नुपर्योे भने तिमी, भाइबहिनी र ममीको बिजोग हुन्छ, तसर्थ यो हाम्रो घरभित्रको कुरा हो, बाहिर आउन दिन हुँदैन, बरु तिमीले जे भन्यो, हामी त्यही गरिदिन्छौ भनी थामथुम लगाए। मैले उहाँहरुबाट साथ पाउने कत्रो आशाले सबै कुरा भनेकी थिएँ तर साथ पाउनुको साट्टो मलाई यातना दिइयो, कति पिटियो, यो टाउकोमा कति ठोकियो, त्यसको लेखाजोखा नै छैन। मेरो जाने ठाउँ पनि कहिँ थिएन।

मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, तसर्थ मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ । तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ । मसँग के छ र ? को छ र ? सर कि मलाई हजुरले बोकेको बन्दुकले ठोकेर मारिदिनुस् कि त वापतीलाई मेरो आँखा अगाडि झुण्ड्याइदिनुस् ।’

घरबाहिरको मानिसबाट बलात्कृत हुँदा त आफन्तले रक्षा गर्ला तर यस्ता बाबु हजुरबाबु नै बलात्कारी भएपछि यी चेलीले कहाँ जाने होला । यहाँ प्रश्न मजाले नै तेर्सिएको छ । सरकारले पीडितका लागि खोलेका सेफ हाउसको संख्या जम्मा १७ वटा भन्दा बढी छैनन् । भएकामा पनि जम्मा ३० दिनभन्दा बढी बस्न पाइन्न भने यस्तो पीडा भोग्ने छोरीहरुले बिष सेवन नगरेर के गर्न सक्छन् भनेर सरकारलाई प्रश्न गर्दा अत्युक्ति नहोला ।

छोरीहरु यसरी बाबुबाट नै बलात्कृत हुन्छन् भने अरुबाट के सुरक्षित होलान् । सहजै अनुमान लगाउन सकिन्छ र भएको पनि त्यस्तै छ । ओरेक नेपालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०। ०७१ म ९ सय १२ जना महिला र बालिका बलात्कृत भएका थिए भने ४सय १४ जनालाई बलात्कारको प्रयास भएको थियो । यसरी बलात्कृत हुनेहरुमा  ७५ वर्षीया बृद्धादेखि ५ वर्षीया बालिकासम्म छन् ।

रौतहटको पौराइ गाविसमा एक नरपिशाचले पाँच वर्षकी बालिका पनि भनेन । उनको चिच्याहटमा रामाइ रमाई बलात्कार गरेर रगतपक्ष बनाएर भाग्यो । ती ५ बर्षीया बालिकाका नीम्ति पौष ७ गते सोमबार जीवनकै कहाली लाग्दो दिन बन्यो । चन्द्रनिगाहपुरको १७ वर्षीय सहनीले उनकी ७ वर्षीया दिदीलाई पैसा दिएर चक्लेट किन्न पठायो । घरमा बा आमा थिएनन् । त्यही मौकामा उसले त्यो कुकृत्य गरेर भाग्यो ।

यो घटना सुन्दा र पढ्दा जीव्रो नटोक्ने को होला र रु दिदी चक्लेट लिएर आइपुग्दा चक्लेट किन्न पठाउने दाइ त छैन । उनले रोइरहेकी बहिनीलार्ई नांगै अनि रगताम्य भएको देखेपछि आफन्तलाई खबर गरिन् । गाउँलेहरुको सहयोगमा उसलाई समातेर प्रहरीको जिम्मा लगाए ।

त्यस्तै शिन्धुपाल्चोकमा ४५ वर्षीय रमेश तामांगले १४ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाएर गत पौष सात गते सोमबार बलात्कार गरयो भने सिरहामा पनि सोही ७ गते सोमबारकै दिन अर्की १४ वर्षीया बालिकालाई खेतमा काम गर्न गएको बेला गोलबजार नपाका प्रदीप यादवले बलात्कार गरेको घटना सार्वजनिका भएको छ ।

धेरैजसो बालिकाहरु चिनेजानेको वा नजिकको नातेदारबाट बलात्कृत भइरहेका छन् । जन्मदिने बाबु होस् वा हजुरबुबा बालिकाहरु बलात्कृत हुने क्रम रोकिएको छैन । यौन हिंसाबाट पीडित महिलाको अधिकारको लागि विगत ११ वर्षदेखि काम गरिरहेको रक्षा नेपालमा  हालसम्म ४ सय २३ जनालाई सेवा दिएकोमा २ सय ५३  जना बालिका छन् । अर्थात ६० प्रतिशत बालिका यौनजन्य हिंसाको शिकार भएका थिए ।  बालिका बलात्कारका घटनामा नातेदार र चिनेजानेका व्यक्तिको संलग्नता रहेको रक्षा नेपालले जनाएको छ  ।

 बलात्कार २१औँ शताब्दीको नेपाली समाजको कुरुपता हो,  बलात्कारीलाई फाँसी नै चाहिन्छ भनौँ

menuka thapa

मेनुका थापा अध्यक्ष, रक्षा नेपाल

 बलात्कार भनेको महिलाको मात्रै समस्या हैन भनेर बुझ्नु जरुरी छ, किनकि हिंसा भन्ने कुरा कतै पुरुषबाट महिलामाथि हुन्छ त, कतै महिलाद्वारा पुरुष माथि हुन्छ। तर बलात्कार त पुरुषबाट महिलामाथि मात्रै हुने भएकाले बलात्कार यो २१ औँ शताब्दीको नेपाली समाजको कुरुपता हो अनि सम्पूर्ण पुरुषको मुखमा पोतिएको कालो धब्बा ।

पुरुषप्रतिको प्रश्न चिन्ह हो। तसर्थ यसको जरा उखालेर फाल्न पुरुषले नै नेतृत्व लिने हिम्मत गर्नुपर्छ। सबै पुरुष बलात्कारी हैनन् तर, १,२ जना विकृत मानसिकता भएका पुरुषका कारण सिंगो पुरुष कलंकित बन्दैछन्। अनि हाम्रो सामाजिक सद्भाव खल्बलिदै छ भने पारिवारिक प्रेम तथा विश्वास ढल्दैछ।

एउटा कुहिएको माछोले पूरै पोखरीको पानी नै दूषित पारेजस्तै दिनप्रतिदिन बढ्दो बलात्कारका घटनाले नेपाली समाज नै दुर्गन्धित हुँदै गइरहेको छ। यो दुर्गन्ध सधैँको लागि अन्त्य गर्ने हामी सबैको साझा दायित्व हो। अपराधी अपराधी नै हो चाहे त्यो धनी होस् वा गरिब, नेता होस् वा कार्यकर्ता ।

त्यसैले आउनुहोस्, हामी सबै विवेकशील नागरिक एकजुट भई बलात्कारीलाई कडाभन्दा कडा कार्बाही दिलाऊँ । आफ्नो छोरीचेलीको अस्मिताको पहरेदार आफै बनौँ, बलात्कारीलाई फासी नै चाहिन्छ भनौँ  ।

एकपछि अर्को घटना सेलाउन नपाउँदै बलात्कारको घटना सार्वजनिक भइरहेका छन् । झापामा आफ्नै बावुले छोरी बलात्कार गरेको घटना सेलाउन नपाउँदै काभ्रेमा बाबु र हजुरबाले छोरी बलात्कार गरेको घटना सार्वजनिक भएको छ । यस्ता घटनाहरुमा पीडितलाई आफन्तले पनि साथ दिँदैन र पीडकहरु उन्मुक्त भएर छोरीहरु बलात्कार गरिरन्छन् ।

घर बाहिरको हो भने धेरै जसो घटनाहरु समाजमै सामसुम पारिन्छ । पैसा दिएर मिलापत्र गराइन्छ । प्रहरीमा जाँदा पनि प्रहरीले पीडक पहुँचवाला छ भने उजुरी नै दर्ता गर्न नमानेको गुनासो पीडितहरुको छ । त्यसैको आडमा त्यस्ता नरपीशाचहरुले बालिका र असक्त बृद्धालाई पनि छोडेका छैनन् । त्यसको ज्वलन्त उदाहरण हो धादिंग बैरेनीको १०२ वर्षीया बृद्धालाई स्थानीय रामबहादु दमाई (५०) र कुमबहादुरले गरेको बलात्कार ।

कमजोर कानुन र सामाजिक दृष्टिकोणका कारण सक्षम महिलाहरु पनि बलात्कारको पीडाबाट अछुतो रहन सकेका छैनन् । एक सञ्चारकर्मी महिलाले बलात्कृत भएको करिब ७ वर्षपछि सर्वोच्च अदालतमा आएर बल्ल न्याय पाएकी छिन् भने अर्की कामकाजी महिला पुनः बलात्कारको शिकार भएकी छिन् ।

 पहुँचद्वारा प्रभावित हुने न्यायले नै पीडित महिलालाई थप बलात्कार गर्छ

beatenकामकाजी महिला  ‘कृष्टिमा’ (नाम परिवर्तन)  कार्यक्षेत्रबाट फर्कँदै गर्दा बलात्कृत भएकी छिन् । उनले तत्काल प्रहरीमा उजुरी दिइन् । प्रहरी आयो । तर,अभियुक्त फरार भयो । घटना घटेको महिना दिन वितिसक्यो । उसलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

पहिलो पहिले पीडित महिला किन नबोलेका, किन चुप लागेर पीडकलाई उन्मुक्ति दिएका होलान्, न्यायको ढोका ढक्ढक्याउन किन नगएका जस्ता अनेकन् प्रश्नहरु उनको मनमा उकुस मुकुस भएर आउने गरेको स्मरण गर्दै कृष्टिमा भन्छिन्  ‘ती प्रश्नको जवाफ मैले आफू बलात्कृत भएपछि एकएक गरी पाएकी छु ।’

आज कृष्टिमालाई  ती पीडित महिलाले नबोलेर ठीक गरेछन् भन्ने लागेको छ । यहाँ त मानवता विरुद्धका घटना पनि राजनीतिकरण गरिने रहेछ । त्यसमा पनि पहुँचवाला जो छ त्यसको पक्षमा । पीडक पहुँचवाला छ भने उसले जतिसुकै जघन्य अपराध किन नगरोस् समाज पीडितको पक्षमा एक शब्द बोल्दैन । त्यस्तो समाजमा न्याय किन माग्ने प्रतिप्रश्न गर्दै कृष्टिमा भन्छिन् ‘पहुँचद्वारा प्रभावित हुने न्यायले नै पीडित महिलालाई थप बलात्कार गर्छ ।’

 हाम्रो विद्यमान कानुनमा बलात्कारीलाई सजाय कम छ । उनीहरु जहिले पनि मसँग शक्ति छ पैसा छ भनेर पीडितलाई थप पीडित बनाउँदै उन्मुक्त भएर हिंड्ने गरेको गुनासो पीडितहरुको छ । यसरी बलात्कारका घटानाहरु दिनदिनै सार्वजनिक भइरहेको कुरालाई दृष्टिगत गर्दै एक कामकाजी महिला बलात्कारीलाई त्यही महिलाले नै मारिदिनुपर्छ ।

बलात्कृत हुँदै आँशु पीएर बाँच्नुभन्दा बरु बलात्कृत हुने नै भएँ भनेपछि बलात्कारीलाई मार्न चाहेमा मार्न सकिने उनी बताउँछिन् । तर त्यो बेलामा आफूमा आत्मबल भने चाहिन्छ । त्यसरी बलात्कारी मार्दा उनले जेल पनि जानुनपर्ने उनको तर्क छ । यसका लागि अब छोरीहरुलाई विद्यालय शिक्षामा दिइने यौन शिक्षासँग बलात्कारबाट कसरी बच्ने र बलात्कारीलाई कसरी मार्ने भन्ने शिक्षा दिइनु पर्ने उनको सुझाव छ ।

हाम्रो विद्यमान कानुनमा बलात्कारसम्बन्धी कस्तो व्यवस्था छ भनी अधिवक्ता बसन्तराज फुयाल (भिम) सँग गरिएको कुराकानी यस्तो छ:

बलात्कार भनेको के हो ? यसलाई कसरी परिभाषित गर्न सकिन्छ ?

Bashanta Fuyal

बसन्त फुयाल अधिवक्ता

कुनै व्यक्तिले कसैसँग निजको मन्जुरी नलिई यौन सम्बन्ध कायम गरेमा त्यसलाई बलात्कार भनिन्छ । बेलायतको Sexual Offices Act (Amendment) 1976, मा It is an offence for a man to rape a woman.जहा पुरुषले महिलाको मन्जुरी बिना करणी गरेमा मात्र जबर्जस्ती करणी हुने भन्ने भावनाबाट परिभाषित गरिएको थियो, तर Criminal Justice and Public Act 1994 को Section I (1) मा उक्त परिभाषा खारेजगरी “It is an offence for a man to rape a women or another man” जुन परिभाषाबाट हामी केकुरामा प्रष्ट हुनु पर्दछ भने जबर्जस्ती करणीमा पिडीत महिला मात्र नभई पुरुषपनि हुनसक्छ तर पिडक भने प्रष्टरुपमा पुरुषनै हुन्छ भनी ब्याख्या गरेको पाइएको छ ।

महिलाले पुरुषलाई बलात्कार गर्न सक्छ कि सक्दैनन् ? थोरै व्याख्या गरिदिनु होला ।

महिलाले पुरुषलाई जबर्जस्ती करणी गर्न सक्दैन किन भने जबर्जस्ती करणी गर्ने पीडकको मस्तिष्कमा करणी गर्ने मनसाय पुर्ण रुपमा भनौँ वा अधिकरुपमा आएको हुन्छ जस्ले गर्दा उसको शरीरमा यौनकृयाकलाप गर्नका लागि उत्प्रेरणा जगाउने यौन रस तिब्ररुपमा उत्पादन भएको हुन्छ अतः पिडकको यौनाङग सक्रिय हुने तर पीडित डर, त्रास, भय र आतङकित हुने हुँदा पीडितको यौनाङगहरु पुर्ण निष्कृय हुने हुँदा महिलाले पुरुषलाई बलत्कार गर्न सक्दैन तर पुरुषले महिलालाई भने बलत्कार गर्न सक्छ ।

 मुलुकी ऐनमा जबरजस्ती करणी भएमा दण्ड सजायको कस्तो व्यवस्था छ ?

मुलुकि ऐनमा जबर्जस्ती करणी सम्बन्धी दण्ड सजाय फरक फरक ढङगबाट उल्लेख गरेको छ । हाडनाताभित्र पर्ने र हाडनाताभित्र नपर्ने । जबरजस्ती करणी भएको सावित भएमा पीडितको उमेर अनुसार सजायको व्यवस्था गरिएको छ । नेपालको प्रचलित मुलुकी ऐन को १५ नं. महलमले हाडनाता करणी सम्बन्धी कानुनी व्याख्या तथा सजायको व्यवस्था गरेको छ भने ऐ.ऐनको १४ नं. महले जबरजस्ती करणी सम्बन्धी कानुनी व्याख्या तथा सजायको व्यवस्था गरेको छ ।

ऐ महलको दफा ३ मा जबरजस्ती करणी गर्नेलाई देहाय बमोजिम कैद सजाय हुनेछ भनी उल्लेख गरेको पाइन्छ । १० बर्ष मुनिको बालिका भए १० देखि १५ बर्ष सम्म, १० बर्ष देखि १५ बर्ष सम्मको बालिका भए ८ देखि १२ बर्ष सम्म, १४ बर्ष देखि १६ बर्ष सम्मको भए ६ देखि १० बर्ष सम्म, १६ बर्ष देखि २० बर्ष सम्म भए ५ देखि ८ बर्ष सम्म, २० बर्ष वा सो भन्दा बढी उमेरकी महिला भए ५ देखि ७ बर्ष सम्म, यस नम्बरमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि लोग्नेले स्वास्निलाई जबरजस्ती करणी गरेमा ३ महिनादेखि ६ महिनासम्म  ।

यही महलको दफा २ मा भने हाडनाताकी स्वास्नी मानिसको जबरजस्ती करणी गरेमा जबर्जस्ती करणीको महल बमोजिमको सजायमा हाडनातामा करणी गर्नेको महलमा लेखिएको सजायसमेत थप हुन्छ। जन्म कैदको सजाय पाउनेमा भने जबरजस्ती करणी बापतको थप सजाय हुँदैन भनी कानुनी सजायको व्यवस्था गरेको छ । सामुहिक बलत्कार गर्नेलाई थप पाँच वर्ष कैद सजायको व्यवस्था गरेको पाइन्छ।

त्यस्तै अदलको महलको ५ नं. ले कैद वा थुनामा रहेकी कुनै महिलालाई सरकारी कर्मचारिले करणी गरेमा वा करणी गर्न अरुकसैलाई सँयोग पारी, मिलाई दिई करणी गराएमा वा चिकित्सा सेवा उपलब्ध गराउने चिकित्सक वा स्वास्थ्य कर्मीले त्यस्तो सेवा प्राप्त गर्न आएकि कुनै महिलालाई सो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गरेमा वा आफुले सँरक्षण दिएकी वा आफ्ना हेरबिचारमा रहेकी कुनै महिलालाई त्यसरी सँरक्षण दिने वा हेरबिचार गर्ने व्यक्तिले करणी गरेमा वा होस् ठेगानमा नरहेकी वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनरस्थापना सँस्थाका पदाधिकारी वा कर्मचारीले करणी गरेमा १ वर्ष देखि ३ वर्षसम्म कैद हुने व्यवस्था गरेको पाइन्छ त्यस्तो कार्य गर्दा यस ऐन वा अन्य कानुन अनुसार पनि सजाय हुने रहेछ भने सो सजायसमेत थपको व्यवस्था गरेको छ ।

२० वर्षमाथिका महिलालाई बलात्कारको पीडा कम हुन्छ कि किन यस्तो व्यवस्था राखिएको होला रु यसलाई सुधार गर्न आवश्यक छ कि छैन ?

मेरो बिचारमा जबरजस्ती करणी जस्तो जघन्य अपराधमा पीडित जहिले पनि ३ प्रकारको पीडामा व्यथित भइरहेको हुन्छः १. शारीरिक पीडा, २) मानसिक पीडा र ३) सामाजिक पीडा । २० बर्ष माथिका महिलालाई जबरजस्ती करणी गरेकोमा २० बर्षभन्दा कम महिलामाथि जबरजस्ती करणी  भएमा हुने सजाय कम हुन्छ भनेर कानुनमा लेखिएको भएर साएद यहाँले पीडा कम हुन्छ होला भनी अनुमान लगाउनु भएको हो भने त्यो गलत हुन सक्छ, पीडा बराबर हुन्छ बलात्कार जस्तो जघन्य अपराधमा । तर बालबालिका र तिनीहरुको पारिवारिक एवं सामाजिक सम्बन्धलाई ख्याल गरेर कानुन बनाउनेले सजायको फरक पारेको हुन सक्छ भने सजायमा सुधार आउन अवश्यक छ भन्दैमा बालबालिका माथिहुने जबरजस्ति करणीको सजाए चाहि घटाउनु हुदैन ।

अनि १७ वर्ष मुनिकाले फौजदारी अभियोग गर्दा आधा सजाय हुने कुरा दण्ड सजायको महलमा व्यवस्था छ । तर सरकारले १६ वर्ष पुगेपछि परिपक्व ठानेर नागरिकता दिन्छ भने उसलाई आधा सजाय हुनु ठीक हो ?

व्यक्तिको जैविकीय वृद्धी एवं विकासलाई सामाजिक परिवर्तनले प्रभाव पारेको हुन्छ अतः व्यक्ति कति वर्षमा परिपक्व हुन्छ भनि राज्यले निर्णयमा पुगेर समान रुपमा नागरिकता र सजायको भागिदार बनाउँदा राम्ररो हुन्छ ।

अहिले ७५ वर्षीया बृद्धाहरु पनि बलात्कृत भइरहेका छन् यस्ता घटनाका बारेमा कानुन मौन छ नि, यसमा यहाँको धारण के छ ?

७५ वर्षिय बृद्धाहरु पनि जवरजस्ती करणीबाट पीडित भएको पाइन्छ जसरी बालबालिकाहरुलाई जबरजस्ती करणी कसैले गरेमा पीडकलाई अन्य उमेर पुगेका महिलालाई जवरजस्ती करणी गर्दा हुने सजाय भन्दा फरक भनौँ वा बढी सजाय हाम्रो मुलुकी ऐनमा उल्लेख गरेको छ । त्यस्तै बृद्धाहरुमाथि हुने जबरजस्ति करणी भएमा सजाय कडाभन्दा कडा हुनु जरुरी छ ।

तिमीलाई म विवाह गर्छु भनेर सहमतिमा करणी गरेर विवाह गरेन र धोका दियो भने त्यसलाई बलात्कार भन्न मिल्छ कि मिल्दैन होला ?

समाजशास्त्रले विवाहलाई महिला र पुरुषबीच शारीरिक सम्बन्ध राख्न सक्ने गरी लोग्ने स्वास्नीको रुपमा सँगै बस्नको लागि अनुमति प्रदान गरेको संस्थाको रुपमा परिभाषीत गरेको छ। अब यहाँले कस्तो सहमति भन्नु भयो  रु विवाह गर्छु भनेर बनाएको वा लिएर आएको कस्तो सहमति हो ।

बिबाह भएन भने उक्त सहमतिलाई सहि रुपमा परिभाषित गर्न कठिन छ यदी त्यो सहमतिको मनसाय केवल यौनको तृष्णा मेट्नको लागि करणी गरेको देखिएमा त्यसलाई अनुचित प्रभाव वा झुक्यानमा पारी गरेको सहमती भन्ने बुझिन्छ । त्यो जवरजस्ती करणी हुन्छ। तर बिवाह नगर्नु वा धोका दिनुको कारण निर्क्योलमा पुग्न भने सार्है कठिन छ   अतः प्रेम सम्बन्धबाट करणी भयोकी विवाह गर्छु भनेर करणी भयो भन्ने कडीको छडी पत्ता लगाउनु अवश्य पर्दछ।

तर भारतको अपराध संहिताको धारा ३७५ मा सहमतिमा गरिएको करणी पनि धोकामा परिणत भयो भने त्यो बलात्कार हुन्छ भनेको छ नि । यस्तो धोकालाई कसरी सम्बोधन गर्न सकिन्छ या सकिन्न होला ?

यसमा इच्छा र सहमतिको कुरा आउँछ, करणी गर्ने इच्छा जाग्नु जैविकीय आवश्यकता हो भने सहमति दिनु मन मस्तिष्कबाट उब्जेको सम्झौता हो । इच्छा जाग्दैमा सहमति नहुन सक्छ भने इच्छा नहुँदा नहुँदै पनि जीवनसँगै बिताउने आसा भरोसामा करणीको सहमति हुनसक्छ तर त्यसको धोकालाई सम्‍बोधन गर्न कठिन भएकोले यौन शिक्षाको चेतना बिभिन्न वुद्युतीय  माध्म तथा अन्य माध्यम द्वारा सचेतना अभियान चलाउनु पर्ने देखिन्छ वा किशोरी शिक्षमा यौन शिक्षा अनिवार्य गर्नुपर्छ ।

धोकाको स्पष्ट व्याख्या नभएसम्म पीडकले उन्मुक्ति पाइरहने अवस्था सिर्जना होला कि नहोला यहाँको धारणा केछ ?

त्यसैले त भने धोका को कहाँबाट कसरी भयो रु भन्ने कुरा को सही निर्क्योल गर्न कठिन छ । तसर्थ पीडकले उन्मुक्ति पाउने सम्भावना धेरै देखिन्छ। अब विवाह गर्छु भन्ने शब्द प्रेम सम्बन्धको भुल भुलैया हो वा यथार्थ (सही) हो भन्ने छुट्याउन सक्ने नागरिक बनाउनु राज्यको दायित्व एकातिर छ भने हामीले पनि सचेतनामूलक कार्यक्रम आ-आफ्नो तर्फबाट चलाउनु पर्छ ।

तिमीलाई विवाह गर्छु भनेर बलात्कार गर्छ र ऊ फरार हुन्छ । अर्थात धोका दिन्छ भने त्यस्तो अवस्थामा पीडकलाई के कस्तो सजाय दिने भन्ने कुरा हाम्रो विद्यमान कानुनमा स्पष्ट व्यवस्था नभएको पीडकहरु उन्मुक्त भएर यही समाजमा घुम्छन् । कसैले ऊमाथि औला  ठड्याउँदैन ।

तर पीडित महिलालाई नै यस्तीउस्ती भन्दै घरपरिवार र समाजले टिकाटिप्पणी गर्छ । महिलाको काम कर्तव्यको सिमा कोर्दै दुखेको घाउमा महलमपट्टी होइन नुन खुर्सानी लगाउन थाल्छ । यसरी समाजले साँधेको मौनताका कारण बलात्कारीहरुलाई हौसला मिलेको छ ।

मानव अधिकारको रक्षाका लागि खुलेका संस्थाहरु राजनीतिक दवाव र प्रभावमा परेको गुनासो उनीहरुको छ । जुन विचार राखेपनि वा जुनसुकै वर्ग , जात , वाद र विचारको भएपनि पीडा उस्तै हुन्छ । यस्ता मानवता विरुद्धका अपराधका घटनाहरुलाई राजनीतिकरण नगर्न उनीहरुले अनुरोध गरेका छन् ।

विभिन्न अध्ययन अनुसार बलात्कारका घटनामा सबैभन्दा बढी आफन्त, चिनेजानेको र नजिकको नातेदारको सम्लग्नता रहेको पाइएको छ । कतिपय पारिवारिक घटनाहरु भित्रभित्रै सामसुम पारिने कारण  बाहिर नै आउँदैनन । बाहिर आएका घटनाहरु प्रायः पैसामा मिलाइने गरेको पाइएको छ ।

युएस ब्युरो अफ जस्टिस स्टास्टिक्सका अनुसार अमेरिकामा करेन्ट र फर्मल इन्टिमेट पार्टनरबाट ३० प्रतिशत , अनोदर नातेदारबाट ६ प्रतिशत , साथीबाट ३७ प्रतिशत र अपरिचितबाट २७ प्रतिशत  अष्ट्रेलियामा नचिनेको बाट करिब ८ प्रतिशत महिला मात्र बलात्कृत हुन्छन् । बलातकारका घटनामा नजिकको नातेदारको संलग्नता पनि अध्ययनले देखाएको छ ।

बलात्कारका घटनामध्ये करिब १३ प्रतिशत घटनाका पीडित मात्र न्याय माग्न जान्छन् भने बाँकी घटनाहरु भित्रभित्रै डर, धम्की देखाएर वा सामाजिक दवावमा पैसा दिएर चुप लगाइने गरेको पनि हामीसामु छुपेको छैन । देशका विभिन्न अदालतमा बलात्कारसम्बन्धी अहिले पनि एक हजार भन्दा बढी मुद्दाहरु विचाराधिन अवस्थामा छन् ।

आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका पत्रकार पोख्रेललाई झापा जिल्ला अदालतले यही मंसिर २८ गते चारलाख विगोसहित २० वर्षको जेल सजाय सुनाएको छ । उनलाई हाडनाता, नाबालक र जबरजस्तीकरणीको मुद्दा लगाइएको थियो ।

यस्ता पीडकहरु मानसिक रुपमा स्वस्थ नभएको कारण यस्ता मानवता विरुद्धका घटना घटाउने गरेको तर्क मनोविदहरुले गर्ने गरेको पाइन्छ । उनीहरु यस्ता मानवताविरुद्धको अपराधका घटनामा सम्लग्न हुनु भनेको उनीहरुमा भएको कुनै न कुनै प्रकारको मानसिक रोग नै मुख्य कारण हुने गरेको मनोविदहरुको भनाइ छ ।

यदी त्यसो हो भने बलात्कार जस्ता मानवता विरुद्धका घटना न्युनिकरणका लागि दण्ड सजाय मात्र पर्याप्त छ त भनेर मनोविद करुणा कुँवरसँग नेपाल कानुले गरेको कुराकानी यस्तो छ ।

पीडकहरुलाई सजाय मात्र होइन मानसिक उपचार पनि गरिनुपर्छ:

Karuna kuwar

करुणा कुँवर मनोविद

बलात्कारका धेरैजसो घटनामा महिलालाई नै दोष दिइन्छ । महिलाले किन बाहिर जानुपरयो , कपडा किन त्यस्तो लगाउनुपरयो भन्ने गरिन्छ । महिलाले यो गर्न हुन्छ त्यो गर्न हुन्न भनेर महिलालाई नै दोष दिँदै परिवारले सहयोग नगर्दा पीडकको मनोबल बढ्छ  ।

यसरी पीडकलाई भन्दा पीडितलाई नै दोष देखाउने सामाजिक प्रचलनका कारण पनि महिलामाथि हुने हिंसाका घटना दिनानुदिन बढेको पाइन्छ । हाल बालिका बलात्कारको घटना बृद्धि हुनुमा छोरीलाई दिइने सम्मान , शिक्षा, परिवारको सतर्कता आदि कारण पनि छन् ।

अर्कोतर्फ पीडकलाई पनि आचरण र नैतिकतासँग मात्र जोडेर नहेरी उसको मानसिक स्वास्थ्यलाई पनि ख्याल गरिनुपर्छ । बलात्कार, हत्या, हिसाजस्ता मानवता विरोधी कार्र्य निरोगी र स्वस्थ मानिसले गर्न सक्दैन ।

जसको दिमागमा जुन कुराले मात्र ठाउँलिन्छ त्यसले त्यो काम नगरेसम्म उसलाई त्यो सोचाइले छोड्दै छोड्दैन र उसले जस्तो सुकै जघन्य अपराध किन नहोस् गरेरै छाड्छ ।

उसलाई कुनै न कुनै चरणको मानसिक समस्या हुन्छ । त्यसको पहिचान गरी निदान गर्न जरुरी छ । हामीले अपराधीलाई यो कोणबाट पनि हेर्न जरुरी छ । तर तिनीहरु सजायको भागिदार होइनन् भन्ने मेरो मान्यता होइन । तर स्वस्थ मानिसले त्यो गर्न सक्दैन । तिनीहरुको मानसिक स्वास्थ्य जाँच गरिनुपर्छ ।तर यता तर्फ कसैको ध्यान गएको पाइँदैन ।

 पीडकलाई कानुन अनुसारको सजाय त दिनैपर्छ तर उसको मानसिक स्वास्थ्यको पनि अध्ययन अनुसन्धान गरी परामर्श वा औषधि के आवश्यक छ त्यो दिननुर्छ । त्यस्ता पीडकलाई जतिसुकै समय जेलमा राखेपनि ऊ त्यहाँबाट छुटेपछि उस्तै प्रकृतिको नभए पनि प्रकृति फेरेर पुनः अपराध गर्न सक्छ । त्यसकारण यस्ता व्यक्तिलाई मनोपरामर्श दिएर स्वस्थ नागरिक बनाउन सकिन्छ । परिणामस्वप यस्ता विकृति विसंगति तथा हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न सकिन्छ ।

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...